तेहरानमा खामेनीको अन्तिम श्रद्धाञ्जलि, विशाल शोक जुलुस सुरु


तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार तेहरान मा विशाल शोक जुलुस सुरु भएको छ। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत राजधानीका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ।

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा खामेनीको मृत्यु भएको बताइएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार जुलुसमा ठूलो सङ्ख्यामा नागरिक सहभागी भएका छन्। सरकारप्रति ऐक्यबद्धता देखाउने उद्देश्यसहित आयोजना गरिएको शोक कार्यक्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ। शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र र सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ। शनिबारदेखि सुरु भएको राष्ट्रिय शोक बिहीबारसम्म जारी रहनेछ। त्यसपछि ८६ वर्षीय खामेनीको अन्त्येष्टि उहाँको जन्मस्थान मशहदस्थित इमाम रजा दरबार परिसरमा गरिनेछ।

यसबीच, संयुक्त राज्य अमेरिका – हर्मुजको जलडमरू पूर्ण रूपमा पुनः सञ्चालन, इरानको विवादित आणविक कार्यक्रम नियन्त्रण तथा युद्धको स्थायी अन्त्यका लागि वार्ता अघि बढाउन दबाब दिइरहेको छ। तर अन्त्येष्टि सम्पन्न नभएसम्म औपचारिक वार्ता स्थगित रहने सङ्केत देखिएको छ।

शोक जुलुसका क्रममा खामेनीको मृत्युको बदला लिनुपर्ने आवाज पनि सुनिएको छ। सहभागीहरूले बोकेका केही प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल ट्र्म्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतनयाहु विरुद्ध आक्रोश व्यक्त गरिएको थियो।

अमेरिकी अधिकारीहरूले सन् २०२० माकासिम सुलेमानी को हत्यापछि ट्रम्पसहित अन्य अमेरिकी अधिकारीविरुद्ध इरानबाट आउन सक्ने सम्भावित धम्कीहरूको लामो समयदेखि निगरानी गर्दै आएका छन्। यद्यपि इरानले ट्रम्पको हत्या गर्ने कुनै षड्यन्त्र रहेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ।

यता ट्रम्पले पनि युद्धका क्रममा इरानविरुद्ध कडा चेतावनी दिएका थिए। शोक जुलुसमा सहभागी फातिमा हसनले भनिन्, “आज हामी आफ्ना नेताप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आएका छौँ। यो हाम्रो लागि अत्यन्त पीडादायी दिन हो। हामी उहाँलाई बिदाइ मात्र गर्न होइन, उहाँको मृत्युको बदला लिन पनि प्रतिबद्ध छौँ।”