नेपाल प्रिमियर लिगका ६ फ्रेन्चाइजसँग एक्सट्रिम इनर्जी ड्रिंक्सको टाइटल स्पोन्सर सम्झौता


काठमाडौं – एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ। यसलाई नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको सम्भवतः सबैभन्दा ठूलो साझेदारीका रूपमा हेरिएको छ।

कम्पनीले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा औपचारिक सम्झौता गरेको हो।

सोमबार आयोजित विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि तथा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स आगामी तीन वर्षसम्म सम्बन्धित टोलीहरूको प्रमुख प्रायोजक रहनेछ। साथै टोलीहरूको खेल जर्सीको अगाडिको प्रमुख स्थानमा कम्पनीको लोगो रहनेछ।

कम्पनीका अनुसार यो सहकार्यले एनपीएलमार्फत ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले एक्स्ट्रिम इनर्जी ड्रिंक्स र एनपीएल फ्रेन्चाइज टोलीहरूबीचको सहकार्य नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको भविष्य निर्माण तथा क्रिकेट संरचनाको सुदृढीकरणका लागि महत्वपूर्ण कदम भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले एनपीएलजस्तो प्रतिष्ठित प्रतियोगिताका ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताए। उनले यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि समेत केन्द्रित रहेको उल्लेख गरे।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सक्रिय रूपमा सहकार्य गर्दै आएको जनाएको छ।

दसैंपछि आयोजना हुने एनपीएलको तेस्रो संस्करणअघि भएको यो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको आकर्षण र विश्वास थप बलियो बनेको संकेत गरेको छ। कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।