भुटानी शरणार्थी प्रकरण : अदालतको फैसलापछि थप अनुसन्धान अघि बढाउन नारायणकाजी श्रेष्ठको आग्रह


काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी तथा किर्तेसम्बन्धी मुद्दामा विभिन्न अभियुक्तलाई दोषी ठहर गरेको छ। अदालतले असार २१ गते सजाय निर्धारण गर्ने जनाएको छ।

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतको फैसलाले राष्ट्रको छविमा गम्भीर आँच पुर्‍याएको उक्त घटनालाई निष्कर्षमा पुर्‍याउने दिशामा महत्वपूर्ण आधार तयार भएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट गम्भीर अनुसन्धान गराई मुद्दा दायर गरिएको स्मरण गराएका छन्। अनुसन्धानबाट पुष्टि भएका प्रमाणका आधारमा मुख्य आरोपितहरूविरुद्ध मुद्दा चलाइएको उनले उल्लेख गरेका छन्।

श्रेष्ठका अनुसार त्यसबेला केही अन्य व्यक्तिहरू पनि शंकाको घेरामा रहेकाले उनीहरूमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै अनुसन्धानको दायरा खुला राखिएको थियो।

उनले सरकारले सम्बन्धित निकायमार्फत थप अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाई घटनामा संलग्न सबै व्यक्ति कानुनी दायरामा आउने सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।