काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसँगै मन्त्रीद्वयले हेलो सरकारको गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह र गुनासो फछ्र्योटको अवस्थाबारे जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा मन्त्रीद्वयले नागरिकका गुनासालाई समयमै सम्बोधन गर्न सम्बन्धित मन्त्रालयहरू प्रतिबद्ध रहेको बताउँदै कर्मचारीलाई प्रत्येक गुनासाप्रति गम्भीर भई प्रभावकारी समन्वयका साथ काम गर्न निर्देशन दिनुभयो। उहाँहरूले हेलो सरकारमा गुनासोको सङ्ख्या बढ्दै जानुले वर्तमान सरकारप्रति नागरिकको विश्वास बढेको संकेत गर्ने उल्लेख गर्दै गुनासोको समयमै फछ्र्योटलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँहरूका अनुसार मन्त्रालयसँग सम्बन्धित गुनासा छिटो सम्बोधन गर्न समन्वय संयन्त्रलाई अझ प्रभावकारी बनाइनेछ। पछिल्लो समय हेलो सरकार सरकारी निकाय र नागरिकबीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्मका रूपमा विकास हुँदै गएको पनि उहाँहरूले बताउनुभयो।
सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीअनुसार हेलो सरकार सेवा २४सै घण्टा सञ्चालनमा ल्याइएको छ। बहुच्यानल प्रणाली, आधुनिक प्रविधि तथा सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय हुने एकीकृत प्रणालीमार्फत गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई)मा आधारित प्रणालीमार्फत गुनासो दर्ता, सम्बन्धित निकायमा स्वचालित रूपमा पठाउने तथा सेवाग्राहीलाई गुनासोको प्रगति अवस्थाबारे नियमित जानकारी दिने व्यवस्था लागू गर्ने तयारी भइरहेको छ।
कार्यालयका अनुसार असार २४ गतेसम्म हेलो सरकार प्रणालीमा १ लाख ३१ हजार ८७५ गुनासा तथा उजुरी दर्ता भएका छन्। तीमध्ये करिब ७० प्रतिशत गुनासा फछ्र्योट भइसकेका छन्।
त्यसैगरी, वर्तमान सरकार गठन भएको गत चैत १३ गतेयता हेलो सरकारमा दर्ता हुने गुनासा तथा उजुरी ८३८ प्रतिशतले वृद्धि भएको छ भने सोही अवधिमा गुनासा तथा उजुरी फछ्र्योटको दर ९७५ प्रतिशतले वृद्धि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

















प्रतिक्रिया