कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण लिन जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागूऔषध सचेतना कार्यक्रममा उनले ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनीसँग सोधपुछ गर्न जिल्ला प्रहरीले बोलाएको हो।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई घटनाबारे सामान्य बुझ्नका लागि जिल्ला बोलाइएको पुष्टि गरेका छन्। कार्यक्रममा चौधरीले ‘अन्यायमा परेकालाई न्याय दिलाउने पुलिस यही हो, केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो’ भन्दै प्रहरी संगठनको निष्पक्ष भूमिकाबारे धारणा व्यक्त गरेका थिए।
उनले आफूहरू राजनीतिक प्रभावका आधारमा नभई प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै ‘हामी भोट, टीका वा दारुभात खाएर आएका होइनौँ’ समेत बताएका थिए।
कार्यक्रममै भिडियो सार्वजनिक नगर्न आग्रह गरे पनि उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। त्यसपछि उत्पन्न भएको चर्चा र विवादका बीच जिल्ला प्रहरीले उनको अभिव्यक्ति कुन सन्दर्भमा आएको हो भन्ने विषयमा स्पष्टिकरण लिइरहेको जनाएको छ।

















प्रतिक्रिया