ट्राफिक प्रहरीको स्पष्टिकरण: आत्मदाह प्रयासमा ट्राफिक जरिवाना कारण नभएको दाबी


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले राहदानी विभागअगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएको ट्राफिक प्रहरीले जरिवाना गरेकै कारण घटना भएको भन्ने प्रचारप्रसार तथ्यहीन र भ्रामक रहेको जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक अनुसन्धानबाट गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको र ट्राफिक कारबाहीसँग उक्त घटनाको कुनै सम्बन्ध नरहेको स्पष्ट गरिएको छ।

कार्यालयले घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट कानुनी अनुसन्धान भइरहेको उल्लेख गर्दै आधिकारिक पुष्टि नहुँदै सुरक्षा निकायको नाम जोडेर अपुष्ट र कपोलकल्पित समाचार तथा सामग्री प्रसारण–प्रकाशन नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अनुरोध गरेको छ।

साथै, अनुसन्धानको निष्कर्ष नआउँदासम्म भ्रम फैलाउने सामग्री नप्रसार गर्न र आधिकारिक तथ्यलाई मात्र आधार बनाउन सबैमा अपिल गरिएको छ।