ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेट, ऊर्जा सहकार्य विस्तारबारे छलफल


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (कार्यवाहक प्रमुख) बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ।

ऊर्जा मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल–अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

छलफलमा स्वच्छ ऊर्जा विकास, जलविद्युत् उत्पादन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, ऊर्जा सुरक्षा, निजी तथा वैदेशिक लगानी प्रवर्द्धन, प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

दुवै पक्षले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्दै पारस्परिक हित र साझा उद्देश्यका आधारमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्रालयका अनुसार उक्त भेटवार्ताले नेपाल र अमेरिकाबीच ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यलाई अझ नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।