काठमाडौं । गृह मन्त्रालयले विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन विपद् हटलाइन नम्बर १२३४ लाई देशभरका सबै ७७ जिल्लामा विस्तार गरी सञ्चालनमा ल्याएको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको टोल–फ्री विपद् नम्बर ११४९ लाई रूपान्तरण गर्दै १२३४ नम्बर लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ। अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः राउटिङ हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
यस व्यवस्थासँगै विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। यसले उद्धार, समन्वय तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै नागरिक सेवालाई परिणाममुखी, जवाफदेही र प्रभावकारी बनाउने नीति लिएको थियो। सोही नीतिअनुसार सबै ७७ जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयले विपद्को समयमा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न तथा आवश्यक परे १२३४ नम्बरमा सम्पर्क गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

















प्रतिक्रिया