विवेक मण्डलको निधनप्रति गगन थापाको श्रद्धाञ्जली, सन्तानको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

थापाले आफ्नो फेसबुकमार्फत शोक सन्देश जारी गर्दै आज बिहान २:४० बजे उपचारका क्रममा विवेक मण्डलको निधन भएको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्।

उनले स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, यस अपूरणीय क्षतिको पीडा सहन परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेका छन्।

थापाले यस कठिन घडीमा आफू शोकसन्तप्त परिवारको साथमा रहेको उल्लेख गर्दै स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्।