काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले विपद्का बेला खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन वायुसेवा सञ्चालक संघ, नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा) सँग समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेको छ।
आज प्राधिकरणमा आयोजित कार्यक्रममा सम्पन्न भएको समझदारीअनुसार विपद्का समयमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ उपकरण तथा जनशक्ति उद्धार कार्यमा परिचालन गरिनेछ।
समझदारीअनुसार वायुसेवा सञ्चालक संघ, नेपाल ले काठमाडौं उपत्यकाभित्र आवश्यक हेलिकोप्टर उडान निःशुल्क उपलब्ध गराउनेछ भने उपत्यका बाहिरको उडान न्यूनतम सञ्चालन खर्चमा गर्नेछ।

त्यसैगरी नेपाल ड्रोन संघ ले आवश्यक पर्दा पाइलटसहित ड्रोन र सम्बन्धित उपकरण निःशुल्क उपलब्ध गराउनेछ। उद्धारमा खटिने टोलीको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्नेछ।
यस्तै नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा) ले बाढी, डुबान तथा नदीजन्य विपद्का बेला खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि जनशक्तिसहित राफ्ट निःशुल्क उपलब्ध गराउनेछ।
समझदारी एक वर्षका लागि कायम रहनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइराला ले विपद् व्यवस्थापनमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै निजी क्षेत्रको सेवाभावको प्रशंसा गरे।

वायुसेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राजविक्रम महर्जन तथा नाराका निमित्त अध्यक्ष शिव अधिकारी ले विपद्मा परेका नागरिकको ज्यान र धनको सुरक्षाका लागि आवश्यक सहयोग गर्न आफूहरू सधैं प्रतिबद्ध रहने बताएका छन्।
कार्यक्रममा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

















प्रतिक्रिया