रौतहट l रौतहटमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।
गरुडा–९ का वडा अध्यक्ष राजेश सहनीका अनुसार गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए। उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आत्मदाहको प्रयास गरेका हुन्।
गौतम गरुडा बजारस्थित झाझ पुल नजिक छाप्रे होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट उनले आफ्ना तीन छोरा तथा परिवारको जीविकोपार्जन गर्दै आएका थिए।
आत्मदाहको प्रयासलगत्तै परिवारका सदस्यले उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। उनको शरीरको करिब ३५ प्रतिशत भाग जलेको बताइएको छ।
यसअघि गत शुक्रबार सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित बर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंगलबार उनको निधन भएको थियो।
यदि तपाईं वा तपाईंले चिन्ने कुनै व्यक्ति आत्महत्या वा आत्मदाह जस्ता विचारसँग संघर्ष गरिरहनुभएको छ भने, कृपया एक्लै नबस्नुहोस्। परिवार, साथीभाइ वा विश्वासिलो व्यक्तिसँग कुरा गर्नुहोस् र नजिकको स्वास्थ्य संस्था वा मानसिक स्वास्थ्य विशेषज्ञबाट तत्काल सहयोग लिनुहोस्। समयमै सहयोग पाउँदा यस्तो संकटबाट बाहिर निस्कन सकिन्छ।

















प्रतिक्रिया