६७ वर्षय बिरामीको चिरफार बिना मस्तिष्कको सफल उपचार केएमसीको ऐतिहासिक उपलब्धि


काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षीय बिरामीको फुटेको ब्रेन एभीएम (धमनी विकृति – AVM) को चिरफार नगरी न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधिबाट सफल उपचार गर्दै नेपालमै नयाँ चिकित्सा इतिहास रचेको जनाएको छ। चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार नेपालमै पहिलो पटक भएको हो।

Screenshot

दीर्घकालीन कलेजो रोगबाट पीडित ६७ वर्षीय हरिप्रसाद कँडेल एक दिन शौचालय जाने क्रममा अचानक बेहोस भएपछि परिवारले उनलाई तत्काल काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्‍याएको थियो। करिब तीन घण्टादेखि अचेत रहेका उनको सीटी स्क्यान गर्दा मस्तिष्कको असामान्य स्थानमा ठूलो रक्तस्राव (हेमाटोमा) देखिएपछि थप परीक्षण गरिएको थियो।

केएमसीको अत्याधुनिक बाइप्लेन क्याथल्याबमा न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा गरिएको डीएसए एन्जियोग्राफीबाट मस्तिष्कमा रगत पुर्‍याउने धमनी र रगत फर्काउने शिराबीच जन्मजात असामान्य रूपमा बनेको रक्तनलीको जालो (ब्रेन एभीएम) फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ। उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलको टोली पनि संलग्न थियो।

चिकित्सकहरूका अनुसार एभीएम जन्मजात हुने दुर्लभ रक्तनलीसम्बन्धी विकृति हो, जुन प्रायः कम उमेरमै देखिने वा फुट्ने गर्छ। ६७ वर्षको उमेरमा एभीएम फुट्नु अत्यन्त दुर्लभ र उच्च जोखिमपूर्ण अवस्था मानिन्छ।

रोग पुष्टि भएपछि चिकित्सक टोलीले टाउको नखोली तिघ्राको रक्तनलीमार्फत अत्यन्त सानो क्याथेटर मस्तिष्कसम्म पुर्‍याई न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधिसँगै आवश्यक स्टेन्टबेलुनको प्रयोग गरी एभीएमको सफल उपचार गरेको जनाएको छ। लामो र जटिल उपचारपछि रक्तस्राव नियन्त्रण गर्दै एभीएमलाई सुरक्षित रूपमा बन्द गर्न चिकित्सक टोली सफल भएको अस्पतालले जनाएको छ।

उपचारपछि हरिप्रसाद कँडेलको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको, केही दिनमै होसमा फर्किएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

बिरामीकी पत्नी सुजाता कँडेलले उपचारको सफलतालाई शब्दमा व्यक्त गर्न नसकिने खुसीको क्षण भएको बताइन्। स्वयं हरिप्रसादले पनि आफूलाई सफल उपचार प्रदान गर्ने चिकित्सक टोलीप्रति आभार व्यक्त गरेका छन्।

न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलका अनुसार मस्तिष्कको असामान्य स्थानमा रक्तस्राव देखिएमा त्यसलाई सामान्य स्ट्रोक वा रक्तस्राव ठानेर मात्र उपचार गर्नु उपयुक्त हुँदैन। यस्ता अवस्थामा एभीएम, एन्युरिज्म वा अन्य रक्तनलीसम्बन्धी विकृतिको सम्भावना खोज्न डीएसए एन्जियोग्राफीसहितको न्युरोइन्टरभेन्सन मूल्याङ्कन आवश्यक हुने उनले बताए।

उनले समयमै सही पहिचान र उपचार गर्न सके यस्ता धेरै बिरामीको ज्यान बचाउन सकिने उल्लेख गर्दै ६७ वर्षको उमेरमा फुटेको ब्रेन एभीएमको न्युरोइन्टरभेन्सनमार्फत सफल उपचार नेपालकै चिकित्सा क्षेत्रमा ऐतिहासिक उपलब्धि भएको दाबी गरे।