शैक्षिक परामर्श व्यवसायीहरूले हातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध सडकमा प्रर्दशन


काठमाडौं । सरकारले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा शैक्षिक परामर्श क्षेत्रका व्यवसायीहरूले शुक्रबार काठमाडौंको पुतलीसडकमा प्रदर्शन गरेका छन्।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आह्वानमा व्यवसायीहरूले हातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध विरोध जनाएका हुन्। यसअघि बिहीबार उनीहरूले हातमा कालोपट्टी बाँधेर आफ्नै कार्यालयमा मौन विरोध गरेका थिए।

इक्यानले सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली जारी गरिएको तथा त्यसका केही प्रावधान अव्यावहारिक रहेको भन्दै संशोधनको माग गरेको छ।

संघले हाल एक वर्षका लागि मात्रै कायम गरिएको अनुमतिपत्रको अवधि पाँच वर्ष बनाउन, शैक्षिक मेला, सेमिनार तथा प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउन तथा पहिलेदेखि सञ्चालनमा रहेका संस्थामा नयाँ मापदण्ड बाध्यकारी रूपमा लागू नगर्न माग गरेको छ।

त्यस्तै, विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने सेवा शुल्क रोक्ने व्यवस्था खारेज गर्न, दोहोरो कर तथा आय–व्यय विवरण बुझाउने प्रावधान हटाउन, विद्यार्थीलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था पुनरावलोकन गर्न तथा संस्थागत ग्रेडिङ प्रणाली र २५ लाख रुपैयाँ धरौटी सम्बन्धी प्रावधान संशोधन गर्न पनि इक्यानले सरकारसँग माग गरेको छ।

इक्यानले व्यवसाय सञ्चालनमा प्रतिकूल असर पर्ने प्रावधानहरू तत्काल संशोधन गरी सरोकारवालासँग व्यापक परामर्शपछि मात्रै नियमावली कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ।