जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक – मन्त्री गीता चौधरी


काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन्।

सोमबार आयोजित नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भिक कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण तथा जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन्।

उनले उक्त लक्ष्य हासिल गर्न चीन सरकार, सिडका (CIDCA), एफएओ तथा अन्य विकास साझेदारहरूको सहयोग आवश्यक पर्ने उल्लेख गरिन्।

मन्त्री चौधरीका अनुसार नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन तथा आधुनिक प्रविधि र बजारसम्मको सीमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित छ।

‘कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई बहुसंख्यक जनसमुदायको जीविकोपार्जन, संस्कृति र पहिचानको आधार हो। तर आज हाम्रो कृषि क्षेत्रले न्यून उत्पादकत्व, जलवायु परिवर्तनका गम्भीर जोखिम, प्राकृतिक विपद्, कृषिमा आश्रित युवाको वैदेशिक पलायन र आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँचजस्ता जटिल चुनौतीको सामना गरिरहेको छ,’ मन्त्री चौधरीले भनिन्।