‘ग्लोबल डान्स लिग’मा नेपालको ऐतिहासिक सफलता, ३ स्वर्णसहित ४ पदक जित्दै १६ राष्ट्रलाई पछि पार्‍यो


काठमाडौं – थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डसहित १६ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली टोलीले ३ स्वर्ण र १ रजत पदक जित्न सफल भएको हो।

ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार ‘एनडिए जुनियर’ले जुनियर मेगा क्रु र टिन्स विधामा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेको छ। त्यस्तै, जुनियर क्रु विधामा दोस्रो स्थान हासिल गर्दै उक्त टोलीले नेपाललाई रजत पदक पनि दिलाएको छ।

यस्तै, ‘टिम एनटी’ ले लोक नृत्य विधामा प्रभावशाली प्रस्तुति दिँदै नेपालका लागि अर्को स्वर्ण पदक जितेको छ। खुला विधामा भने नेपाली टोली चौथो स्थानमा सीमित भएको गहतराजले जानकारी दिए।

प्रतियोगितामा नेपाली टोलीको प्रस्तुति निर्णायक, विभिन्न देशका कन्ट्री डाइरेक्टर तथा दर्शकबाट उच्च प्रशंसा बटुलेको थियो। प्रतियोगिता अवलोकन गर्न पुगेकी नेपाली अभिनेत्री परीक्षा लिम्बुका अनुसार नेपाली टोली विजयी हुँदा हलभर नेपालको राष्ट्रिय गान गुञ्जिएको र राष्ट्रिय झण्डा फहराइएको क्षण निकै गर्विलो बनेको थियो। उनले विश्वभरबाट आएका कला पारखीहरूले नेपाली डान्सरहरूको खुलेर प्रशंसा गरेको पनि बताइन्।

नेपाली टोली हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएर थाइल्यान्ड पुगेको हो। रोशन गहतराजको नेतृत्वमा गएको टोलीमा टिम एनटी, रनरअप ‘दि इननेट सउल’ तथा जुनियर टिम डिभिजन विजेता ‘एनडिए जुनियर’ सहभागी थिए। गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा विश्वका सयौँ उत्कृष्ट डान्सर, प्रशिक्षक र कोरियोग्राफरहरूको सहभागिता रहेको थियो।

यस संस्करण नेपाली नृत्य क्षेत्रका लागि अर्को कारणले पनि विशेष बन्यो। नेपालका चर्चित डान्स निर्देशक तथा कोरियोग्राफर जेडी तमू प्रतियोगितामा निर्णायकको भूमिकामा थिए। विश्वस्तरको यति ठूलो मञ्चमा नेपाली निर्णायकको सहभागिता आफैँमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनीसँगै न्युजिल्यान्डकी चर्चित कोरियोग्राफर काया पियर्स, जसले अमेरिकी पप स्टार जस्टिन बिबरको चर्चित गीत ‘Sorry’ को कोरियोग्राफी गरेकी छन्, निर्णायक मण्डलमा रहेकी थिइन्।

नेपाली निर्णायकको उपस्थिति र नेपाली टोलीको उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय नृत्य मञ्चमा नेपालको प्रतिष्ठा थप उँचो बनाएको आयोजक तथा सहभागीहरूले बताएका छन्।