काठमाडौं । विश्वकै चर्चित युट्युबर जिमी डोनाल्डसन, जसलाई संसारभर मिस्टर बिस्ट (MrBeast) का नामले चिनिन्छ, आफ्नी प्रेमिका थिया बुइसेनसँग वैवाहिक बन्धनमा बाँधिएका छन्।
उनीहरूले जुलाई २१ मा परिवारका सदस्य र निकट साथीभाइको उपस्थितिमा निजी समारोहबीच विवाह सम्पन्न गरेका हुन्। विवाहपछि मिस्टर बिस्टले सामाजिक सञ्जालमार्फत पहिलो वैवाहिक तस्बिर सार्वजनिक गर्दै आफ्नो खुसी साटेका छन्।
इन्स्टाग्राममा तस्बिर साझा गर्दै उनले लेखेका छन्, “मैले मिसेस बिस्टलाई भेटाएँ, र त्यो मेरो जीवनको सबैभन्दा राम्रो दिन थियो।”
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले डिसेम्बर २०२४ मा इन्गेजमेन्ट गरेका थिए। त्यसपछि उनीहरूले साधारण र निजी शैलीमा विवाह गर्ने निर्णय गरेका थिए। विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र निमन्त्रणा गरिएको थियो।
मिस्टर बिस्ट हाल विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर हुन्। उनको ‘MrBeast’ युट्युब च्यानलमा ५० करोडभन्दा बढी सब्सक्राइबर रहेका छन्, जसले उनलाई युट्युब इतिहासमै यो उपलब्धि हासिल गर्ने पहिलो कन्टेन्ट क्रिएटर बनाएको छ।
विशाल बजेटका भिडियो, चुनौतीपूर्ण परियोजना, परोपकारी गतिविधि र अनौठा कन्टेन्टका कारण मिस्टर बिस्ट विश्वभरका करोडौं दर्शकमाझ अत्यन्त लोकप्रिय छन्।

















प्रतिक्रिया