चिकित्सकका माग तत्काल सम्बोधन गर्न गगन थापाको सरकारसँग आग्रह


काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गर्दै स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाप्रति ध्यानाकर्षण गराउँदै थापाले नागरिकको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने बताएका छन्।

चिकित्सकहरूको आन्दोलनका कारण उपचारको पर्खाइमा रहेका हजारौँ बिरामी प्रभावित भएको उल्लेख गर्दै उनले समस्याको तत्कालीन मात्र होइन, दीर्घकालीन समाधान खोज्न पनि सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक आफ्नो धारणा राख्दै थापाले स्वास्थ्यकर्मीले सुरक्षाको माग गर्दै सेवा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको उल्लेख गरेका छन्। यस्तो परिस्थिति नयाँ नभएकाले दीर्घकालीन समाधानमा ढिलाइ गर्न नहुने उनको भनाइ छ।

थापाले तीन बुँदे आग्रहसमेत गरेका छन्।

१.नारायणी अस्पताल घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) बमोजिम कानुनी कारबाही गर्न तथा वार्ताका क्रममा चिकित्सकसँग दुर्व्यवहार गरेको आरोप लागेका अधिकारी र प्रहरीमाथि निष्पक्ष छानबिन गर्न।

२.नेपाल चिकित्सक संघ तथा स्वास्थ्यकर्मीसँग तत्काल संवाद गरी उनीहरूको पेशागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्दै ओपीडीसहित अत्यावश्यक स्वास्थ्य सेवा अविलम्ब सञ्चालन गर्न।

३.स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि वार्ता र संवादमार्फत समाधान खोज्दै सेवा प्रवाह नरोक्न आग्रह।

थापाले सरकार र आन्दोलनरत चिकित्सक दुवै पक्षलाई संवादमार्फत निकास खोज्न आग्रह गर्दै नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।