दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता, ऋण असुली पनि तीव्र


काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ सहकारी र पशुपति सहकारीका गरी ३४१ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ।

समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमकै आधारमा पीडित बचतकर्तालाई रकम फिर्ता गरिएको स्पष्ट पारेको छ।

समितिले साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट ऋण असुली गरिएको जानकारी पनि दिएको छ।

समितिका अनुसार पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गरिएको हो। आगामी चरणमा बचत रकमको आधारमा वर्गीकरण गरी अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने जनाइएको छ।

समितिले प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई निरन्तर रूपमा फिर्ता गर्ने कार्य जारी रहने जनाएको छ।