प्रेमी गुमाएपछि पागलप्रेमी बने श्रीकृष्ण, लज्जावती’को नयाँ गीत सार्वजनिक


काठमाडौं – आगामी २९ साउनदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लज्जावती’ को दोस्रो गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

मर्मस्पर्शी भाव बोकेको गीतको भिडियोमा कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाबीचको प्रेम, विछोड र त्यसपछिको भावनात्मक अवस्थालाई चित्रण गरिएको छ। प्रेमिकासँग छुट्टिएपछि श्रीकृष्ण निरौला पागलप्रेमीजस्तै बनेको देखिन्छ, जहाँ उनी जतासुकै आफ्नी प्रेमिकाको आभास गर्छन्। प्रेमिकाको खोजीमा हराएको उनको पात्रलाई मुकुन भुसाल र जानुका विश्वकर्माले खोजिरहेको दृश्यले भिडियोलाई अझ भावुक बनाएको छ।

गीतमा थानेश्वर गौतमको सुमधुर स्वर रहेको छ भने शब्द भीम कुमार ओझाले रचना गरेका हुन्। सन्तोष बिसीको संगीत र नारायण दंगालको संगीत संयोजनले गीतलाई थप प्रभावशाली बनाएको छ।

यसअघि सार्वजनिक गरिएको पहिलो गीत ‘दिलको मोटर’ सामाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा चर्चित बनेको छ। चलचित्रको ट्रेलरले पनि दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ। दोस्रो गीतले पनि त्यस्तै माया पाउने विश्वास टिमको छ।

निर्देशक राजबहादुर सानेका अनुसार चलचित्रले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव, संघर्ष र भावनात्मक यात्रालाई प्रस्तुत गरेको छ।

चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।

चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन देव महर्जन र छायांकन दिव्यराज सुवेदीले गरेका छन्। चलचित्र कुबेर सिने डिस्ट्रिब्युसनमार्फत देशभर प्रदर्शनमा आउनेछ।