प्रियंका कार्कीको ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, छोरी बचाउन आमाको संघर्षले तान्यो ध्यान


काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच झन्डै २ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरले फिल्मको मूल कथावस्तु प्रस्तुत गर्दै शिक्षिका आमाले आफ्नी छोरीलाई जोगाउन गरेको संघर्षलाई केन्द्रमा राखेको छ। ट्रेलरअनुसार एक लेस्बियन युवतीले सिम्रन खड्काको पात्रसँग जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गर्छिन्। त्यसको प्रतिवादपछि उत्पन्न हुने घटनाक्रम र छोरीलाई सुरक्षित राख्न आमाको रूपमा प्रियंका कार्कीले गर्ने संघर्षलाई रोचक ढंगले देखाइएको छ।

ट्रेलरमा प्रियंकाको पात्र चतुर र योजनाबद्ध देखिन्छ, जसले भारतीय फिल्म ‘दृश्यम’का मुख्य पात्र विजय सालगांवकरको शैलीको झल्को दिने देखिन्छ। पारिवारिक भावना, रहस्य र थ्रिलरको मिश्रणले ट्रेलरलाई थप आकर्षक बनाएको छ।

शुभेन्द्र घोषको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की, सिम्रन खड्का, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, दीपाश्री निरौला, दीपकराज गिरी र जितु नेपाललगायत कलाकारहरूको अभिनय रहेको छ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन्। कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा (प्रियंका कार्कीकी आमा) र सिमोस सुनुवार रहेका छन्।

प्रियंकाकै कथामा आधारित फिल्मको पटकथा शान बस्नेतले लेखेका हुन् भने संवाद प्रियंका कार्की र शान बस्नेतले संयुक्त रूपमा तयार पारेका छन्। युवराज इन्दोरियाको छायांकन र राजा सिंह सिदुको सम्पादन रहेको फिल्म भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।