काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरहरूलाई अन्तर्राष्ट्रिय मोडलअनुसार २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ।
भाटभटेनीले पाइलट प्रोजेक्टका रूपमा भक्तपुरस्थित स्टोरबाट २४ घण्टा सेवा सुरु गर्न लागेको जनाएको छ। यही साउन २७ गते बुधबारदेखि भक्तपुर स्टोर चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
हाल बिहान ७ः३० बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको स्टोर २४ घण्टा खुला राख्दा ग्राहकलाई थप सहज हुने भाटभटेनीको विश्वास छ।
रात्रिकालीन सेवाका लागि छुट्टै ‘कोर टिम’ समेत तयार गरिएको छ। राति काम गर्ने कर्मचारीलाई नियमित तलबभन्दा २५ प्रतिशत बढी पारिश्रमिक दिने तथा चिया–खाजाको समेत व्यवस्था गर्ने भाटभटेनीले जनाएको छ।
मुलुककै ठूलो चेन स्टोरका रूपमा रहेको भाटभटेनीका जेनजी आन्दोलनका क्रममा १२ भन्दा बढी स्टोरमा आगजनी भएको थियो। आगजनीबाट प्रभावित अधिकांश स्टोर अहिले पुनः सञ्चालनमा आइसकेका छन्।
भक्तपुरपछि बौद्ध, टंगाल, कोटेश्वर र पाटनलगायतका स्टोरलाई पनि २४ सै घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। त्यसपछि पोखरा, बुटवल र नारायणगढलगायत प्रमुख सहरमा रहेका भाटभटेनीका स्टोरमा पनि २४ घण्टा सेवा विस्तार गर्ने योजना रहेको जनाइएको छ।



















प्रतिक्रिया