तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त


काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’को अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्रीले साउन २० गते तीनवटै प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य–सचिव तथा परिषद् सदस्य नियुक्त गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यद्वारा जारी विज्ञप्तिअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी र उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त भएका छन्। सदस्य–सचिवमा रुपन्देहीका रोशन शेरचन नियुक्त भएका छन्।

त्यस्तै, परिषद् सदस्यमा काठमाडौँकी प्रतिसरा मानन्धर, दाङका कृष्ण राज चौधरी, तेह्रथुमकी सीता सुब्बा, कास्कीका तीर्थबहादुर गुरुङ, सिराहाकी रुपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गाबहादुर घर्ती नियुक्त भएका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार र उपकुलपतिमा ललितपुरका चन्द्र श्याम डंगोल नियुक्त भएका छन्। सदस्य–सचिवमा दोलखाका कैलाश कुमार श्रेष्ठले जिम्मेवारी पाएका छन्।

यस प्रतिष्ठानको परिषद् सदस्यमा काठमाडौँका जुपिटर प्रधान, झापाका कुबिर देवान, ललितपुरका संगी श्रेष्ठ, बाँकेका ध्रुवराज शर्मा, सिराहाका ओमप्रकाश यादव र ललितपुरकी विणा पौड्याल नियुक्त भएका छन्।

यसैगरी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौँका ब्रजेश खनाल र उपकुलपतिमा ताप्लेजुङकी झुमा वनेम नियुक्त भएका छन्। सदस्य–सचिवमा मोरङका भूपेन्द्र सिंह रायमाझी नियुक्त भएका छन्।

उक्त प्रतिष्ठानको परिषद् सदस्यमा झापाका छेन्दोक हाङ राई, भक्तपुरका जीतबहादुर देउजा, ललितपुरकी सुबिमा श्रेष्ठ, बर्दियाकी सरस्वती चौधरी, भोजपुरका राजन मुकारुङ र धादिङकी रेखा शाह गुरुङ नियुक्त भएका छन्।