काठमाडौं – अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्र ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिकालाई फिचर गरिएको छ। गीतको अडियो तथा भिडियो आकर्षक बनेको छ।
एसडी योगी र अन्जु पन्तको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द, एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत निर्माण रहेको छ। गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी छ भने शेखर घर्ती मगर र सुशन तामाङले सहायक कोरियोग्राफी गरेका छन्।
‘जलाकी’ निर्देशक अशोक थापा मगरको दोस्रो चलचित्र हो। उनको डेब्यु चलचित्र ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीत टिकटक, फेसबुक रिल्स तथा युट्युबमा निकै लोकप्रिय बनेको थियो।
‘खुस्मा’को सफलतापछि निर्देशक मगरको नयाँ चलचित्र ‘जलाकी’प्रति पनि दर्शकको चासो बढेको छ। शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्र आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
चलचित्रमा सोनम तोप्देन र उपासना सिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन ‘खबपु’, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा छन्।
यसै चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा डेब्यु गरेकी छन्। बालकलाकारतर्फ मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर रहेका छन्।
चलचित्रका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले देशव्यापी वितरण गर्नेछ।



















प्रतिक्रिया