काठमाडौं – नेपालको पहिलो कमेडी एक्टमा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने कार्यक्रमको घोषणा सोमबार ललितपुरको चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।
शोमा महानायक राजेश हमालले ‘लिग प्रेसिडेन्ट’को भूमिका निर्वाह गर्नेछन्। त्यस्तै, चर्चित कलाकार विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहनेछन्।
कार्यक्रमका लागि देशका पाँच सहरमा अडिसन आयोजना गरिने भएको छ। साउन २९ गते दमक, साउन ३१ गते नारायणगढ, भदौ २ गते नेपालगन्ज, भदौ ४ गते पोखरा र भदौ ६ गते काठमाडौंमा अडिसन हुनेछ।
अडिसनबाट छनोट भएका ३२ प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा आठ जना प्रतिस्पर्धी रहनेछन् भने चारै समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन्।
अडिसनमा सहभागी हुन नपाएका तथा नेपालबाहिर रहेका नेपालीभाषी प्रतिभाले डिजिटल अडिसनमार्फत पनि सहभागिता जनाउन सक्नेछन्। त्यसका लागि आफ्नो प्रस्तुति भिडियो निर्माण पक्षले उपलब्ध गराएको इमेल वा सम्पर्क नम्बरमा पठाउन सकिनेछ।
‘सुपर कमेडी लिग’ समूहमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम हुनेछ। एउटा स्क्रिप्टमा कम्तीमा दुई जना प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन्। पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिमा स्केच, स्किट तथा ड्रामेडी लगायतका शैली प्रयोग गरिनेछ।
कार्यक्रमको उद्देश्य कमेडियन मात्र नभई कमेडी एक्टमा उत्कृष्ट अभिनय तथा प्रस्तुति दिन सक्ने कलाकारको खोजी गर्नु रहेको निर्देशक एलिन श्रेष्ठले बताए। प्रतिभाशाली कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा सक्रिय श्रेष्ठले नेपाल आइडल, सारेगमप लिटिल च्याम्प्स, बूगी बूगी, मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सलगायत विभिन्न रियालिटी शो निर्देशन गरिसकेका छन्।
श्रेष्ठले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनको प्रिमियम कमेडी रियालिटी शोका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रमको प्रसारण राष्ट्रिय टेलिभिजनबाट हुनेछ भने डिजिटल प्रसारण ओएसआरमार्फत गरिनेछ। कार्यक्रमका पर्दापछाडिका सामग्री सारङ्गी मिडियामार्फत प्रसारण हुने निर्माण पक्षले जनाएको छ।
‘सुपर कमेडी लिग’को नियमित प्रसारण भदौको अन्तिम सातादेखि सुरु हुनेछ। विशुद्ध पारिवारिक मनोरञ्जनमा केन्द्रित कार्यक्रमले नेपाली दर्शकलाई हास्य प्रस्तुतिको नयाँ शैलीको स्वाद दिने निर्माण पक्षको विश्वास छ।




















प्रतिक्रिया