चाडपर्वकै बीच एनपीएलको महाउत्सव, कहिलेदेखि सुरु हुँदैछ?


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै यसपटक एनपीएल नेपालीहरूको प्रमुख चाड दसैं र तिहारको बीचमा आयोजना हुने जनाएको छ।

क्यानका सचिव पारस खड्काका अनुसार क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै प्रतियोगिताको मिति तय गरिएको हो। यसअघि मंसिरमा हुँदै आएको एनपीएल यसपटक चाडपर्वकै समयमा आयोजना हुने भएकाले नेपाली क्रिकेट समर्थकले चाडपर्वसँगै क्रिकेटको रोमाञ्चसमेत अनुभव गर्न पाउनेछन्।

तेस्रो संस्करणका लागि खेलाडीको अक्सन सम्पन्न भइसकेको छ। अक्सनपछि आठवटै फ्रेन्चाइज टोलीले आफ्नो टोली निर्माणलाई तीव्रता दिएका छन् भने अहिले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढिरहेको छ।

जनकपुर बोल्ट्सले भारतीय मूलका अमेरिकी खेलाडी हर्मित सिंहलाई कप्तान बनाउँदै टोलीमा भित्र्याएको छ। लुम्बिनी लायन्सले नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पेलम्यानलाई पुनः अनुबन्ध गरेको छ भने पोखरा एभेन्जर्सले श्रीलंकाका धनञ्जय लक्षणलाई निरन्तरता दिएको छ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो। तेस्रो संस्करणमा आठ फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धाले नेपाली क्रिकेटमा थप उत्साह ल्याउने अपेक्षा गरिएको छ।