काठमाडौं – कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ले घरेलु बक्सअफिसमा २० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थान हासिल गरेको छ।
सोमबार दिउँसो ४ बजेसम्म फिल्मले २० करोड १० लाख रुपैयाँ ग्रस कमाएको हो। सोही अवधिसम्म फिल्मलाई ७ लाख २९ हजारभन्दा बढी दर्शकले हलमा पुगेर हेरेका छन्।
‘गौँथली’ले सोमबार नै समीर भट्ट स्टारर फिल्म ‘१२ गाउँ’को १९ करोड ९२ लाख रुपैयाँको ग्रस कमाइलाई उछिनेको हो।
२० करोडको आँकडा पार गरेसँगै ‘गौँथली’ अब सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थानमा पुगेको छ। यसभन्दा अगाडि ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ रहेका छन्।
फिल्मले प्रदर्शनको लामो समयपछि पनि दर्शकको साथ पाइरहेकाले यसको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया