दुई सचिवले दिए राजीनामा, मन्त्रिपरिषद्बारा स्वीकृत


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले पदबाट राजीनामा दिएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सचिवको राजीनामा स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन्। साउन १३ गते सञ्चार मन्त्रालयमा सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। उनको सेवा अवधि अझै एक वर्षभन्दा बढी बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएपछि उनी असन्तुष्ट रहेको बताइएको छ।

त्यस्तै, आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जान लागेका सचिव बाबुराम अधिकारीले पनि अवकाशको दुई साताअघि नै राजीनामा दिएका छन्। बागमती प्रदेशका प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई अवकाशको समय नजिकिँदै गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो।

सचिव तहबाटै राजीनामा आएको यो पछिल्लो घटना हो। यसअघि सहसचिवसहित तल्लो तहका कर्मचारीले राजीनामा दिँदै आएका थिए।

सरकारले ५५ वर्ष उमेर पूरा गरेका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाश दिने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अघि बढाएपछि कर्मचारीमा राजीनामा दिने क्रम बढेको बताइएको छ।

राष्ट्रिय किताबखानाको अभिलेखअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको दुई तिहाइ सरकार गठन भएयता करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव तथा ठूलो संख्यामा अधिकृत र तल्लो तहका कर्मचारीले राजीनामा दिएका छन्।