काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले बन्द रहेका उद्योग खोल्नेसँगै सञ्चालनमा रहेका उद्योगलाई बन्द हुनबाट रोक्दै नाफामा लैजानेतर्फ पनि गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।
घिसिङले बुधबार आफ्नो फेसबुक स्टाटसमार्फत सरकारले बन्द उद्योगहरू खोल्दै गर्दा सञ्चालनमा रहेका हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग बन्द हुने चरणमा पुग्नुको कारण खोज्नुपर्ने बताएका हुन्।
उनले निजी लगानीकर्ताले खानी खरिद गरेर अर्बौं रुपैयाँ लगानी गरी स्थापना गरेका सिमेन्ट उद्योग नाफामा सञ्चालन भइरहँदा राम्रो चुनढुंगा खानी र विदेशी लगानीबाट ठूलो संरचना निर्माण भएको सरकारी सिमेन्ट उद्योग घाटामा गएर बन्द हुने अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताएका छन्।
घिसिङले पाँच वर्षअघि प्रसारण लाइन नपुगेको अवस्थामा समेत ह्वासिन सिमेन्टले डिजेल जेनेरेटरमार्फत उद्योग सञ्चालन गरेर नेपाली उपभोक्तालाई अन्य उद्योगभन्दा केही सस्तोमा सिमेन्ट उपलब्ध गराएको उदाहरणसमेत दिएका छन्। विद्युत् पुगेपछि उद्योग विद्युत्बाटै सञ्चालन हुन थालेको उनले उल्लेख गरेका छन्।
सरकारी संस्था सधैं घाटामा चल्छ भन्ने मान्यता नेपाल विद्युत् प्राधिकरणले गलत साबित गरेको घिसिङको दाबी छ। स्थापनादेखि अधिकांश समय घाटामा रहेको प्राधिकरण पछिल्लो १० वर्षदेखि लगातार अर्बौं रुपैयाँ नाफामा रहेको र सो अवधिमा विद्युत् महसुल करिब २५ प्रतिशत घटाउँदा पनि नाफा कमाउन सकिएको उनले बताएका छन्।
“नेतृत्व र व्यवस्थापन अत्यन्त महत्वपूर्ण छ,” घिसिङले लेखेका छन्।
उनले सरकारले बन्द उद्योग खोल्ने मात्र नभई तिनलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउने तथा सञ्चालनमा रहेका उद्योगलाई बन्द हुनबाट रोक्दै नाफामा लैजाने विषयमा समेत गम्भीर भएर सोच्नुपर्ने बताएका छन्।






















प्रतिक्रिया