प्रेमले बदलिएका गौरव, खुसीको पर्खाइमा ‘पारिजात’


काठमाडौँ – गायक तथा संगीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ। प्रेमिल भाव समेटिएको गीतको भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन्।

भिडियोमा गौरव र खुसीबीचको एकतर्फी प्रेमलाई प्रस्तुत गरिएको छ। खुसीप्रति आकर्षित भएका गौरव प्रेममा परेपछि आफूमा परिवर्तन ल्याउँछन्। खुसीको प्रेम प्राप्त गर्ने प्रतीक्षामा रहेका गौरवले अन्ततः प्रेम पाउँछन् कि पाउँदैनन् भन्ने कथालाई भिडियोमा प्रस्तुत गरिएको छ।

घामपानी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको भिडियोका निर्माता तथा कथाकार शान बस्न्यात हुन्। उनले नै भिडियोको कथा तथा पटकथा तयार गरेका हुन्। सरल र मनछुने शैलीमा तयार गरिएको भिडियो गायक सिलवालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

अस्मिता रुचालको शब्द रहेको गीतमा प्रकाश सिलवालकै स्वर तथा संगीत छ। प्रेमले मानिसको जीवनमा पार्ने प्रभाव र ल्याउने परिवर्तनलाई गीतमार्फत प्रस्तुत गरिएको सिलवालले बताए। उनका अनुसार अडियोको भावअनुसार नै भिडियोको कथा तयार गरिएको हो।

गीतको भिडियोमा गौरवले प्रेमीको भूमिका निर्वाह गरेका छन्। उनले गीतको भाव र कथाअनुसार आफूलाई प्रस्तुत गर्ने प्रयास गरेको बताए।

भिडियोमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा ‘चरी’, युवक लामा ‘घाइते’, कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने र सुजाता तिमल्सिनालगायत कलाकारको अभिनय छ। भिडियोले एकतर्फी प्रेम, प्रतीक्षा र प्रेमका कारण आउने परिवर्तनलाई केन्द्रमा राखेको छ।