सौगात–दयाहाङसँग ‘साम्राज्य’मा विजय बरालको इन्ट्री


काठमाडौं – निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा कलाकारको लाइनअप थप रोचक बनेको छ। सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि कीर्तिमानी अभिनेता विजय बराल पनि फिल्ममा जोडिएका छन्।

निर्देशक चौधरीले बुधबार विजयलाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरिएको जानकारी दिएका हुन्। विजयको प्रवेशसँगै फिल्ममा थिएटर पृष्ठभूमिका चार चर्चित कलाकार एकसाथ देखिने भएका छन्।

सौगात, दयाहाङ र विजयले यसअघि ‘कबड्डी’ श्रृंखलामा सहकार्य गरिसकेका छन्। उनीहरूको केमेस्ट्री दर्शकले रुचाएका कारण ‘साम्राज्य’मा पनि उनीहरूको सहकार्यलाई चासोका साथ हेरिएको छ।

बुद्धिसागरको लेखन रहेको फिल्ममा प्रवेश चौधरी र निला देव निर्माता छन्। विश्वास बस्नेत ‘बेन’ सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको छायांकन भदौदेखि कोशी ब्यारेक क्षेत्रमा ७० दिनसम्म हुने बताइएको छ।

निर्देशक चौधरीले ‘साम्राज्य’लाई नेपाली फिल्म उद्योगकै ठूलो स्केलमा निर्माण हुने ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गर्ने बताएका छन्। विभिन्न कालखण्डको कथा समेटिने फिल्ममा कथा, मेकिङ र प्रस्तुतिमा नयाँपन दिने प्रयास गरिएको उनको भनाइ छ।