काठमाडौं – सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा सामाजिक कथामा आधारित नयाँ टेलिसिरियल ‘जुनी’ निर्माण भएको छ। निर्माण टिमले बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान कार्यक्रममार्फत सिरियलको टिजर सार्वजनिक गरेको हो।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। सोही अवसरमा प्रष्ट मिडिया प्रालिले टेलिसिरियल क्षेत्रमा सक्रिय विभिन्न कलाकार तथा स्रष्टालाई सम्मान गरेको थियो। श्रेष्ठले सम्मानित कलाकारहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।
सम्मानित हुनेमा निर्देशक दीपक आचार्य ‘काकु’, दमन रुपाखेती, ‘हर्के हल्दार’का निर्देशक इन्द्र डोङ लामा, विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशन्नसा कार्की, सरोज घिमिरेलगायत रहेका छन्।
सामाजिक विषयवस्तुमा निर्माण गरिएको ‘जुनी’को टिजरलाई भने फिल्मको टिजरझैँ सिनेमाटिक शैलीमा प्रस्तुत गरिएको छ। सिरियलको मुख्य भूमिकामा कमला घिमिरे र रञ्जित पौडेल रहेका छन्। उनीहरूसँगै विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियासिल, रोहित कार्की, सुस्मा सिलवाल, राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की र सपना त्रिपाठीलगायत कलाकारको अभिनय छ। बाल कलाकारमा सोफिया त्रिपाठी र आदर्श कार्की छन्।
टिजर सार्वजनिक कार्यक्रममा निर्देशक थापाले आफूले अहिले चलिरहेका सिरियलभन्दा फरक प्रस्तुति दिन खोजेको बताए। उनका अनुसार ‘जुनी’मा नाटकीयता कम र वास्तविक कथालाई बढी प्राथमिकता दिइएको छ।
“सिरियलमा ड्रामा एकदमै कम छ। वास्तविक कथा बढी छ,” निर्देशक थापाले भने। उनले ‘जुनी’लाई दर्शकले अन्य सिरियललाई जस्तै माया र साथ दिने विश्वाससमेत व्यक्त गरे।
निर्देशक थापाका अनुसार सिरियलको सुरुवाती चरणमा ५२ एपिसोड प्रसारण गरिनेछ। यसको प्रसारण मिति भने घोषणा गरिएको छैन। निर्माण टिमले छिट्टै प्रसारण मिति सार्वजनिक गर्ने जनाएको छ।
प्रष्ट मिडिया प्रालिको प्रस्तुति रहेको सिरियलका निर्माता विज्ञान सापकोटा र सौगात छेत्री हुन्। मुख्य सहायक निर्देशकमा योगेश भण्डारी रहेका छन्।
सञ्जय राई र विष्णु भण्डारीले छायांकन गरेको सिरियलको सम्पादन तथा कलर विनोद बमले गरेका छन्। शीर्ष गीतमा निर्देशक सुरेश थापाकै शब्द रहेको छ भने भीम बिसीको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा सुरज पण्डित र अस्मिता अधिकारीले स्वर दिएका छन्।






















प्रतिक्रिया