काठमाडौं – गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ। बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।
फिल्ममा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिने भएका छन्। बिक्कीका लागि भने ‘डियर काव्या’ डेब्यु चलचित्र हुनेछ। थिएटर पृष्ठभूमिका बिक्की सार्वजनिक पोस्टरमा उपासनासँग रोमान्टिक मुडमा देखिएका छन्।
पोस्टरमा उपासनाले बिक्कीको घाँटीमा रहेको गलबन्दी तान्दै उनलाई आफूतर्फ नजिक ल्याएको देखिन्छ। पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज सहर र कर्णाली पुललाई प्रस्तुत गरिएको छ।
चलचित्रको निर्देशन श्रद्धा प्रसाईंले गर्नेछिन्। उनका लागि यो दोस्रो निर्देशकीय चलचित्र हो। यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा रहेको छ। ‘डियर काव्या’को छायांकन आगामी मंसिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ।
फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगरलगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन्। दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता तथा अर्जुन पौडेल लाइन प्रोड्युसर रहेका छन्।
फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछन् भने मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन्। चलचित्रको मिडिया कोअर्डिनेटर चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं रहेका छन्।
चलचित्र घोषणाका क्रममा निर्देशक श्रद्धा प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गरिन्। उनले ‘डियर काव्या’का लागि आफूले भरपूर मेहनत गर्ने बताइन्।
कार्यकारी निर्माता दिया मास्केले ‘डियर काव्या’मार्फत निर्माताका रूपमा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताइन्। उनले फिल्म निर्माण आफ्ना लागि नयाँ अनुभव भएको उल्लेख गर्दै चलचित्रबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने जानकारी दिइन्।
डेब्यु अभिनेता बिक्की समशेर खड्काले पहिलो चलचित्रका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे। उनले दिया मास्के र अनुप बराल आफ्ना अभिनय गुरु रहेको उल्लेख गर्दै उनीहरूले आफूलाई विश्वास गरेर फिल्ममा अवसर दिएको बताए।
अभिनेत्री उपासना सिंह ठकुरीले पनि आफूलाई ‘डियर काव्या’का लागि छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन्। विशेषगरी दिया मास्केलाई धन्यवाद दिँदै उनले महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले आफू उत्साहित रहेको बताइन्।
निर्माण पक्षका अनुसार फिल्मको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ। ‘डियर काव्या’को छायांकन मंसिरबाट सुरु हुने तयारीमा छ।





















प्रतिक्रिया