अपराधीलाई जुनसुकै बेला कारबाही हुन्छ : प्रहरी महानिरीक्षक कार्की


काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुराना आपराधिक घटनामा संलग्न व्यक्ति जुनसुकै बेला कानुनी दायरामा आउन सक्ने बताएका छन् ।

उनले प्रहरी सङ्गठनले विगतका आपराधिक घटनालाई ‘इन्स्टिच्युसनल मेमोरी’का रूपमा सुरक्षित राख्ने भएकाले अपराधीलाई समय बित्दैमा उन्मुक्ति नहुने स्पष्ट पारे ।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा कार्कीले पुराना चर्चित तथा जघन्य अपराधको अनुसन्धान विशेष टोलीमार्फत भइरहेको जानकारी दिए । नयाँ र पुराना मुद्दालाई सँगसँगै अघि बढाइएको भन्दै उनले केही पुराना घटनामा सफलता समेत प्राप्त भएको बताए ।

उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोमार्फत पुराना जघन्य अपराधको अनुसन्धान जारी छ । पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएकाले विशिष्टीकृत अनुसन्धान इकाइ र आवश्यक जनशक्ति परिचालनमा पनि जोड दिइएको उनले बताए ।

कार्कीले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई घरबाटै आवेदन तथा निवेदन दिन सक्ने व्यवस्था विकास गरिएको जानकारी दिए । साथै, अपराध नियन्त्रणका लागि नागरिकको सूचना र सहयोग आवश्यक रहेको बताए।