बारामा ३ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरी अनुसन्धानमाथि प्रश्न


काठमाडौं । बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका किशोर प्रहरी हिरासतमा रहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र प्रोटोकलमाथि प्रश्न उठेको छ।

प्रहरीका अनुसार मेडिकल जाँचका क्रममा चिकित्सकले प्रश्न सोधिरहेको अवस्थामा उक्त भिडियो खिचिएको थियो। संवेदनशील प्रकृतिको घटनामा अनुसन्धानकै क्रममा रहेका अभियुक्तको बयान तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसको व्यापक विरोध भइरहेको छ।

बलात्कार र हत्याजस्तो गम्भीर अपराधमा अनुसन्धानका क्रममा रहेका संवेदनशील सामग्री सार्वजनिक हुनु आपत्तिजनक भएको भन्दै सरोकारवालाले प्रश्न उठाएका छन्। यस्ता सामग्रीको अनधिकृत प्रसारले पीडितको गोपनीयता र अधिकारमा असर पार्नुका साथै अनुसन्धानको निष्पक्षता तथा न्यायिक प्रक्रियामै प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

घटनासँग सम्बन्धित संवेदनशील सामग्री कसरी बाहिरियो र कसले भिडियो सार्वजनिक गर्‍यो भन्ने विषयमा समेत छानबिन आवश्यक देखिएको छ।