काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको काम तीव्र गतिमा अघि बढाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेकी छन्।
मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या तथा जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसहित सुदूरपश्चिम भ्रमणमा रहेकी मन्त्री रावलले कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा पुगेर भूमिसम्बन्धी समस्याको अवस्थाबारे जानकारी लिएकी हुन्।

कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, घोडाघोडी र गौरीगंगा नगरपालिकालगायतका स्थानीय तहमा पुगेर उनले नापजाँच तथा लालपुर्जा वितरणको कामलाई गति दिन जनप्रतिनिधि तथा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेकी छन्।
मन्त्री रावलले पालिका–पालिकामा पुगेर भूमिहीन सुकुम्बासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रियासमेत गरिरहेकी छन्। कञ्चनपुरका दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुरलगायतका स्थानीय तहमा पुगेर उनले भूमिहीन नागरिकले भोगिरहेका कानुनी तथा प्रक्रियागत जटिलता र लालपुर्जा प्राप्तिको अवस्थाबारे जानकारी लिएकी छन्।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको बताउँदै नआत्तिन र अफवाहको पछि नलाग्न आग्रह गरेकी छन्। वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छुट्न नहुनेमा जोड दिँदै उनले स्थानीय तह र सम्बन्धित निकायलाई प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएकी छन्।
मन्त्री रावलले भूमिसम्बन्धी समस्यासँगै सहकारी पीडितका गुनासा पनि प्रत्यक्ष रूपमा सुन्दै आएकी छन्। सहकारीमा बचत गरेको रकम फिर्ता नपाएका पीडितको समस्या समाधान तथा बचत फिर्ताको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको उनले बताएकी छन्। कैलालीमा सहकारी पीडितको रकम फिर्ता गर्ने काम सुरु भइसकेको जानकारीसमेत उनले दिएकी छन्।

यस्तै, कञ्चनपुरका आरक्षपीडितसँग भेटघाट गर्दै मन्त्री रावलले लामो समयदेखि समाधान हुन नसकेको उनीहरूको समस्या पनि सरकारको प्राथमिकतामा रहेको बताएकी छन्।
भूमिसम्बन्धी समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री रावलको भनाइ छ। एउटा तहको असहयोगका कारण पूरै पालिकामा लालपुर्जा वितरण प्रभावित हुन सक्ने भन्दै उनले नागरिकका समस्या समाधानका लागि सबै तहका सरकारलाई साझा रूपमा अघि बढ्न आग्रह गरेकी छन्।
मन्त्री रावलको भ्रमणका क्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै समस्या सुन्ने, स्थलगत अवस्थाको जानकारी लिने तथा सम्बन्धित निकायलाई कामको गति बढाउन निर्देशन दिने क्रम जारी छ।






















प्रतिक्रिया