काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका सम्बन्धमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो।
चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठूलो बाढी प्रवेश गरेपछि रसुवाका तटीय तथा नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ। बाढीका कारण स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको जनाइएको छ।
बाढीको अवस्था, सम्भावित जोखिम, उद्धार तथा राहत व्यवस्थापनका विषयमा बैठकमा छलफल भइरहेको छ। जोखिममा रहेका नागरिकको सुरक्षा तथा तत्काल उद्धारका लागि सम्बन्धित निकायलाई सक्रिय बनाउने विषयमा समेत आवश्यक निर्णय गरिने बताइएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण नदी तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीको जलस्तर थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।






















प्रतिक्रिया