काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि सम्बन्धित निकायले आफ्ना संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अघि बढाएका छन्। जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। सम्भावित जोखिममा रहेका अन्य नागरिकलाई पनि सुरक्षित स्थानमा जान सरकारले निरन्तर सूचना प्रवाह गरिरहेको छ।
बाढीका कारण जोखिम बढेकाले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन सरकारले आग्रह गरेको छ।
प्रभावित क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएका छन्। जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रसमेत सक्रिय बनाइएको छ।
प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी क्षेत्रका हेलिकप्टरलाई समेत उद्धार तथा खोजीका लागि तयारी अवस्थामा राखिएको जनाइएको छ।
यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ।
प्रधानमन्त्री शाहले बाढी तथा विपद्को अवस्थाबारे छलफल गर्न बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन्।






















प्रतिक्रिया