काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत तथा आगामी कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्चस्तरीय बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको छ।
विपद् व्यवस्थापन प्राधिकरण सक्रिय बनाउँदै मेडिकल टोली, एम्बुलेन्स, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी उद्धार तथा राहतलाई तीव्रता दिइएको उनले बताएका छन्।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ। सम्भावित उद्धारका लागि सरकारी तथा निजी हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको छ।
प्रधानमन्त्री शाहले नागरिकलाई सुरक्षित स्थानमा रहन र सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामात्र पछ्याउन आग्रह गरेका छन्।






















प्रतिक्रिया