रसुवा बाढीपछि उद्धारका लागि सबै हेलिकप्टर स्ट्यान्डबाइमा राखियो


काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत उद्धार तथा राहत कार्यका लागि आवश्यकताअनुसार तत्काल हेलिकप्टर परिचालन गर्न तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्य अघि बढाइरहेको छ।

यसैबीच, तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न र सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना पालना गर्न आग्रह गरिएको छ।