भोटेकोसी बाढीपछि उद्धार र राहतबारे प्रधानमन्त्री शाहको परामर्श


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग छलफल गरेका छन्।

बुधबार सिंहदरबारमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूले बाढीबाट भएको क्षति, तटीय बस्तीको अवस्था तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै तल्लो तटीय क्षेत्रमा सतर्कता बढाउन र विस्थापितलाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिइसकेको जानकारी दिए।

यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको अवस्था तथा खोज, उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।

सरकारले प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ।