काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सरकारले साढे २ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १/१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत, उद्धार तथा खोजीमा प्रयोग गरिनेछ।
तिब्बतको जिलोङ क्षेत्रमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा क्षति पुर्याएको हो। रसुवाको टिमुरे, स्याफ्रुबेंसी र रसुवागढी क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी छ।
बाढीपछि सुरक्षा निकाय परिचालन गरी उद्धार तथा राहतलाई तीव्रता दिइएको छ। सम्भावित जोखिमलाई ध्यान दिँदै चितवनसम्म एसएमएसमार्फत सतर्कता सूचना पठाइएको छ भने मुग्लिङसहित त्रिशूली नदी करिडोरमा उच्च निगरानी बढाइएको छ।
अस्थायी बाँध फुटिसकेपछि माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएकाले थप जोखिम क्रमशः कम हुने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया