काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, उपचार र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले बताएका छन् ।
घाइतेको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । उपत्यकाका अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखिएको तथा प्रभावित क्षेत्रमा मेडिकल टोली र स्वास्थ्य सामग्री पठाइएको उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाइने र आज रातभर पनि उद्धार कार्य जारी रहने बताएका छन् । प्रभावित क्षेत्रमा खानेकुरा, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल गरिने उनको भनाइ छ ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने प्रधानमन्त्री शाहले बताएका छन् ।
उनले विपद्को यो कठिन समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको उद्धार तथा राहत अभियानमा सहयोग गर्न समेत अपिल गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहले फेसबुकमा यस्तो लेखेका छन् :–























प्रतिक्रिया