काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। विपद्का कारण प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको हो।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। त्यस्तै, विपद्को समयमा जोखिम मोलेर उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी–गैरसरकारी निकायप्रति कम्पनीले सम्मान व्यक्त गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।






















प्रतिक्रिया