धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरेर पैसा चोरी गरेको आरोपमा २९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीय व्यक्तिहरूले सेफ तोडफोड गरी त्यसमा रहेको नगद आफुखुसी निकालेर चोरी गरेको सूचना पाएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट रु. ९२ लाख ६८ हजार ५०५ नगद बरामद गरेको जनाएको छ।
बरामद नगदको स्रोत तथा घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूबारे समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले बरामद नगदसहित नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान अघि बढाएको छ।





















प्रतिक्रिया