काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाबीच रास्वपा पार्टी कार्यालय, बनस्थलीमा भेटवार्ता भएको छ। भेटमा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार र तीन तहका सरकारबीचको समन्वयबारे छलफल भएको छ।
भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नुपरेको बताए। प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारले त्यसबारे जानकारी नपाएकोमा उनले दुःख व्यक्त गरे।
थापाले विपद्का बेला संघ, प्रदेश र स्थानीय सरकारले कसले कुन काम गर्ने भन्ने स्पष्ट रूपमा छुट्याउन आवश्यक रहेको बताए। प्रभावित क्षेत्रमा राहत पठाउन कठिन भइरहेको र पठाइएको राहतसमेत बट्टार क्षेत्रमा जम्मा भएको तथा त्यसभन्दा माथिल्लो क्षेत्रमा पुर्याउन असहज भएको उनको भनाइ थियो।
जलवायु परिवर्तनको असर दीर्घकालीन हुने देखिएकाले खोला किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको पनि मुख्यमन्त्री थापाले बताए।
रास्वपा सभापति रवि लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए। अहिलेको अवस्थामा सबै सरकारले समन्वय गरेर काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको उल्लेख गर्दै उनले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाए।





















प्रतिक्रिया