काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले आज पनि खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकोप्टरमार्फत नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोली माथिल्लो त्रिशूली–३ बीको सुरुङ क्षेत्रमा पुगेको थियो। टोलीले सोही दिन सुरुङ क्षेत्रमा रेकी गर्नुका साथै रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना क्षेत्रमा समेत स्थलगत निरीक्षण गरेको थियो।
दुवै आयोजनाको रेकीपछि चिनियाँ उद्धार टोलीले नेपाली सेनालाई घटनास्थलको वस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गते चिनियाँ टोली रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो।
यता, सोही दिन माथिल्लो त्रिशूली–३ बीमा नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो।
आज बिहान ९ बजेदेखि नेपाली सेनाको भैरवनाथ गणका थप १६ जना सुरक्षाकर्मी उद्धार टोलीमा सहभागी भएका छन्। उनीहरूले सुरुङ क्षेत्रमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै भित्र पस्ने बाटो बनाउन खन्ने काम गरिरहेका छन्।
माथिल्लो त्रिशूली–३ बीको सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले उद्धार प्रयासलाई निरन्तरता दिएको हो।






















प्रतिक्रिया