काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत सबैभन्दा लामो ३.४८६ किलोमिटरको धेद्रे–महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।
धेद्रेदेखि महादेवटार जोड्ने सुरुङ सफलतापूर्वक जोडिएको आयोजनासँग सम्बन्धित इन्जिनियर मंगललाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
यससँगै फास्ट ट्र्याकमा हालसम्म तीनवटा ट्विन ट्युब सुरुङ ‘ब्रेक थ्रु’ भएका छन्। यसअघि १.६९ किलोमिटरको धेद्रे र १.६२ किलोमिटरको लेनडाँडा सुरुङ ‘ब्रेक थ्रु’ भएका थिए।
७१ किलोमिटर लामो फास्ट ट्र्याकमा करिब ११ किलोमिटर सुरुङ रहनेछ। पछिल्लो डिजाइनअनुसार आयोजनामा सातवटा सुरुङ निर्माण हुँदैछन्।
बाँकी चार सुरुङमध्ये २.२३ किलोमिटर लामो चन्द्रामभीर सुरुङ निर्माणको प्रारम्भिक चरणमा छ। यसको निर्माण अहिले सुरुआती अवस्थामै रहेको छ।
त्यस्तै, १ किलोमिटर लामो देवीचौर सुरुङ र ३९० मिटर लामो सिसौटार सुरुङमा खन्ने काम सुरु भइसकेको छ। दुवै सुरुङमा हालसम्म करिब २०–२० मिटर मात्र सुरुङ खनिएको छ। त्यसैले यी दुई सुरुङको निर्माण पनि प्रारम्भिक चरणमै रहेको छ।
यता ५८३ मिटर लामो मौरीभीर सुरुङको भने पोर्टल अर्थात् सुरुङ खन्ने प्रवेश बिन्दु निर्माण भएको छ। अब त्यसबाट सुरुङ खन्ने काम अघि बढाउने तयारी छ।
यसरी फास्ट ट्र्याकका सात सुरुङमध्ये धेद्रे, लेनडाँडा र धेद्रे–महादेवटार गरी तीनवटा सुरुङ ‘ब्रेक थ्रु’ भइसकेका छन्। बाँकी चन्द्रामभीर निर्माणको प्रारम्भिक चरणमा, देवीचौर र सिसौटारमा करिब २०–२० मिटर खन्ने काम सम्पन्न तथा मौरीभीरमा पोर्टल निर्माणको चरणमा रहेको छ।
फास्ट ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको हो। आयोजना सम्पन्न गर्ने म्याद पछिल्लो पटक तीन वर्ष थपिएको छ। आयोजना पूरा भएपछि काठमाडौंलाई तराई–मधेससँग करिब एक घण्टामा जोड्ने लक्ष्य राखिएको छ।



















प्रतिक्रिया