त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार, अन्यको खोजी जारी


काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार गरिएको छ ।

उद्धार टोलीले सुरुङभित्र जमेको भग्नावशेष, लेदो तथा अन्य अवरोध पन्छाउँदै लामो समयदेखि फसेका दुई कर्मचारीलाई सकुशल बाहिर निकालेको हो ।

उद्धार गरिएकामा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कवीर महर्जन रहेका छन् । उनीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

सुरुङभित्र अझै केही व्यक्ति फसेको हुनसक्ने जानकारी पाएपछि उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीले सुरुङभित्र बाँकी रहेकाहरूको खोजी तथा उद्धार कार्य तीव्र बनाएको छ ।