भोटेकोशीको विपत्ति विश्वमै विरलै हुने प्रकृतिको : प्रोफेसर आर्नोल्ड डिक्स


काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताउनुभएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहनुभएका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो।

मन्त्रीलाई ब्रिफिङ गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै डिक्सले बाढीले सिर्जना गरेको अवस्था र उद्धारमा देखिएका चुनौती असाधारण रहेको बताउनुभयो।

“यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ। सम्भवतः यस्तो घटना पहिलो नै होला,” उहाँले भन्नुभयो।

डिक्सका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित बनाएको छ। कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको उहाँले बताउनुभयो।

अत्यन्तै साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उहाँको भनाइ छ।

“हेलिकप्टर पनि ल्यान्ड गर्न नसक्ने अवस्थाबाट उद्धार गर्नुपर्ने स्थिति थियो। गल्छीहरू अत्यन्त साँघुरा छन्। उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो,” उहाँले भन्नुभयो।

‘अहिले कसैलाई दोष दिने बेला होइन’

डिक्सले यस्तो विपत्तिका बेला कसैलाई दोष दिने समय नभएको बताउँदै नेपाली पक्षले उद्धारका क्रममा गरेको समन्वयको प्रशंसा गर्नुभयो।

नेपाल सरकार तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उद्धार कार्यमा अत्यन्तै समन्वयकारी भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो।

“अहिले कसैले कसैलाई दोष दिने अवस्था छैन, त्यो बेला पनि होइन। यस किसिमको विपत्ति आउनुमा मैले नेपालको कुनै दोष देख्दिनँ,” उहाँले भन्नुभयो।

सतहमा ठूलो विनाश देखिए पनि त्यसकै आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने उहाँको भनाइ छ।

जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्नेमा डिक्सले जोड दिनुभयो।

डिजाइनलाई अहिलेको घटनाका आधारमा दोष दिन मिल्दैन

डिक्सले नेपालका जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन तथा सुरुङ संरचनाको अध्ययन गरिरहेको बताउनुभयो। विपत्तिपछि सुरुवाती चरणमै उपलब्ध डिजाइन, नक्सा तथा प्राविधिक तथ्यांक अध्ययन गरी उद्धारको सम्भावित बाटो पहिचान गर्न थालिएको उहाँले जानकारी दिनुभयो।

“मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु। विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ,” उहाँले भन्नुभयो।

हालको विपत्तिका आधारमा जलविद्युत् आयोजनाको डिजाइनलाई दोष दिनु उचित नहुने उहाँले स्पष्ट पार्नुभयो।

“यदि कसैले यी जलविद्युत् आयोजनाको डिजाइन गलत थियो भन्न चाहन्छ भने त्यो पूर्ण रूपमा गलत निष्कर्ष हो। विश्वको इतिहासमा हामीले यस्तो घटना देखेका थिएनौँ। दुई हप्ताअघिसम्म हामीलाई जे थाहा थियो, त्यसका आधारमा त्यहाँका डिजाइन उपयुक्त थिए। अहिले परिस्थिति बदलिएको छ,” उहाँले भन्नुभयो।

उद्धारका लागि उपकरण पुर्‍याउनु नै ठूलो चुनौती

डिक्सका अनुसार अहिले भइरहेको उद्धार अभियान सामान्य सुरुङ उद्धारभन्दा निकै फरक छ। उद्धारका लागि आवश्यक भारी उपकरण र दक्ष जनशक्ति घटनास्थलसम्म पुर्‍याउनु नै ठूलो चुनौती बनेको उहाँले बताउनुभयो।

बाढीले सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएका कारण उपकरण ढुवानी गर्न नसकिएको र हेलिकप्टरको क्षमताले समेत ठूला मेसिन घटनास्थलसम्म पुर्‍याउन नसकिने अवस्था रहेको उहाँले जानकारी दिनुभयो।

“हामीलाई कुन उपकरण चाहिन्छ भन्ने थाहा छ, तर ती उपकरण हेलिकप्टरभित्र अटाउँदैनन्। त्यसैले अहिले सडक बनाउने काम भइरहेको छ। सडक पुगेपछि मात्रै ठूला मेसिन लैजान सकिन्छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार केही भारी उपकरणको तौल करिब पाँच टनसम्म रहेको छ। तत्काल उपकरण लैजान नसकिएको अवस्थामा अर्को किनारासम्म पहुँच पुर्‍याउन केबल पुल वा रोपवेको विकल्पसमेत खोजिएको उहाँले बताउनुभयो।

“हजारौँ मानिस काम गर्न तयार भए पनि उनीहरूलाई घटनास्थलसम्म पुर्‍याउन सकिँदैन। त्यहाँ पुगे पनि बस्ने ठाउँ छैन। उपकरण लैजान पनि समस्या छ। त्यसैले यो सामान्य उद्धार अभियान होइन,” उहाँले भन्नुभयो।

सिल्क्यारा उद्धारपछि अन्तर्राष्ट्रिय चर्चामा

डिक्स सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको घटनापछि अन्तर्राष्ट्रिय रूपमा चर्चामा आउनुभएको थियो।

उक्त उद्धारमा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गर्नुभएका डिक्सले त्यसअघि पनि भूमिगत संरचना तथा टनेल सुरक्षासम्बन्धी क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको छ।

नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको उल्लेख गर्दै उहाँले विपत्तिबाट प्रभावित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन चाहेको बताउनुभयो।

“मेरो आफ्नै गाउँमा रहेको स्थानीय चर्चमा नेपालका लागि मात्र प्रार्थना सभा भइरहेका छन्। मेरो संस्था इन्टरनेशनल टनेलिङ एसोसिएसनले पनि सम्मान र सहयोग प्रकट गरिरहेको छ। अहिले पूरै विश्वको हृदय तपाईंसँगै दुखेको छ,” उहाँले भन्नुभयो।

उहाँले थप्नुभयो, “तपाईंहरूले केही गलत गर्नुभएको छैन भन्ने कुरा संसारले बुझेको छ। यो प्राकृतिक रूपमा घटेको विपत्ति हो। नेपाली जनतालाई मेरो सन्देश छ, तपाईंहरू एक्लो हुनुहुन्न। हामी यहाँ तपाईंहरूलाई सहयोग गर्न आएका छौँ।”

जलविद्युत् क्षति राष्ट्रिय क्षतिको विषय

डिक्सले बाढीले जलविद्युत् आयोजनाका संरचनामा पुर्‍याएको क्षति केवल भौतिक पूर्वाधारको क्षति नभएको टिप्पणी गर्नुभयो।

जलविद्युत् नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा, पहिचान र सार्वभौमिकतासँग जोडिएको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा भएको विनाशलाई व्यापक दृष्टिले हेर्नुपर्ने उहाँको भनाइ छ।

“यो केवल मानवीय त्रासदी होइन, बौद्धिक र राष्ट्रिय क्षतिको विषय पनि हो। जलविद्युत् नेपालको राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वतन्त्रताका लागि धेरै महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।

भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजनाको डिजाइनकै चरणदेखि समेट्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।

कठिन भौगोलिक अवस्था, निरन्तर जोखिम र सीमित पहुँचका बाबजुद नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले गरिरहेको प्रयास महत्वपूर्ण रहेको बताउँदै डिक्सले सम्भावित जीवित व्यक्तिको खोजीलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

“मैले पहिले कहिल्यै यस्तो देखेको थिइनँ,” डिक्सले भन्नुभयो।