चिलिमे जलविद्युत् आयोजनामा खोज तथा उद्धार तीव्र, सुरुङभित्र १०५ मिटर पुगे नेपाली–भारतीय टोली


रसुवा । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज तथा उद्धारसँगै पहुँच मार्ग पुनर्निर्माणको काम तीव्र बनाएको छ।

आयोजनाको सर्भिस टनेलसम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति भएको छ। साथै, आयोजनाको वारिपारि आवतजावत सहज बनाउन डोरी (रोप) समेत टाँगिएको नेपाली सेनाले जनाएको छ।

बाढी आएको दिन भदौ १० गते नै नेपाली सेनाको टोली घटनास्थलमा पुगेर प्रारम्भिक रेकी गरेको थियो। त्यसपछि सुरुङको प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्ने क्रममा सेनाको टोलीले दुई जनाको शव फेला पारेको थियो।

भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाका विशेषज्ञ टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। संयुक्त टोली हालसम्म सुरुङभित्र १०५ मिटरसम्म प्रवेश गरिसकेको जनाइएको छ।

उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन बबक्याट एस्काभेटर लगायत आयोजनास्थलमा उपलब्ध अन्य एस्काभेटर प्रयोग भइरहेको छ। सुरुङभित्र जमेको दलदल तथा माटो पन्छाउने र उत्खनन गर्ने काम निरन्तर जारी रहेको सेनाले जनाएको छ।

कठिन भौगोलिक अवस्था र सुरुङभित्र जमेको दलदलका कारण चुनौतीपूर्ण बनेको खोजी तथा उद्धार कार्यलाई आवश्यक स्रोतसाधन परिचालन गर्दै निरन्तरता दिइएको छ।